बझाङ : जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछी एक जना सुत्केरी महिलालाई आज हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका ५ की हिरादेवी बोहराको जिल्लामा थप उपचार हुन नसकेपछी सुर्खेत हेलिक्पटर मार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।
बोहराको स्वास्थयमा समस्या आएपछी उहाँ शुक्रवार उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएको थियो ।
जिल्ला अस्पताल बझाङका प्रमुख डा. धिरज विशंखका अनुसार बोहरालाई जिल्ला अस्पतालमा पुर्याउदाँ अर्धचेत अवस्थामा पुर्याइएको र बच्चाको धड्कन सुनिएका कारण अप्रेशन गरी बच्चा निकालिएको थियो ।

अप्रेशन पश्चात् आमाको स्थास्थ्यमा केही सहजता आएको भएपनि बच्चाको मृत्यु हुन पुगेको डा. विशंखले बताउनुभयो । बोहराको अप्रेसनपछी आखाँको प्रतिक्रियामा फेरी समस्या आएको र उपचारमा थप जटिलता नआओस् भनेर जिल्ला अस्पतालका स्टाफ नर्ससहित सुर्खेत रेफर गरिएको हो ।
बझाङबाट निर्वाचित मन्त्री भानुभक्त जोशी, प्रमुख जिल्ला अधिकारीसंगको सल्लाहमा हेलिकप्टर मागगरी बोहराको उद्धार गरिएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा. धिरज विशंखले बताउनुभयो । सुर्खेतबाट आएको हेलिकप्टरले बोहरालाई सवा तीन बजे उद्धारगरी सुर्खेत लगेको हो ।

