
धनगढी – बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ ।
हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो ।
‘हरियो हिमाली अभियान’ अन्तर्गत स्थानीयलाई पालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच केजी चामल दिने गरेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताए ।
आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालित सो अभियान अन्तर्गत पालिकाका सबै वडामा फलफूल (कागती, स्याउ, ओखर, आँप, अनार), डाले घाँसका बिरुवा (बाँच, कुमु, डालेपिपल) गरी आठ प्रजातिका बिरुवा रोपिएका छन् ।
स्थानीय कृषकले आफ्नै बारी तथा सार्वजनिक जग्गामा सो बिरुवा रोप्दै आएका छन् ।
आव २०७७/७८ मा रुख रोपेर जोगाएबापत कृषकलाई दुई हजार एक सय क्विन्टल, २०७८/७९ मा एक हजार आठ सय क्विन्टल र २०७९/८० मा एक हजार सात सय क्विन्टल गरी पाँच हजार छ सय क्विन्टल चामल वितरण गरिसकिएको छ ।
गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बाजुराको सबैभन्दा दुर्गम तथा स्थानीय उत्पादनमा पछाडि परेको हिमाली गाउँपालिकाका बासिन्दालाई फलफूलमा आत्मनिर्भर बनाउन यस्तो अभियान चलाइएको बताए ।

