काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छन् ।
यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक उपाधि उचालेको थियो । यसपटक लुम्बिनीसँग लगातार दोस्रो पटक च्याम्पियन बन्ने अवसर छ भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा हुनेछ ।
लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । त्यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिमले लिग चरणको पहिलो भेटमा पनि ७ विकेटको हार बेहोरेको थियो ।
एनपीएलको इतिहासमा लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम एक्लो टोली हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि लुम्बिनीसँग उपाधि भिडन्तमा चुकेको थियो ।
तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसबाहेक व्यक्तिगत विधाका पुरस्कारले पनि प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीले कार र उदीयमान खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।
गत कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएलको तेस्रो संस्करण आज फाइनलसँगै समापन हुँदैछ । यस संस्करणमा अम्पायरको निर्णय पुनरावलोकन गर्न सकिने डीआरएस प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट प्राप्त मान्यताले प्रतियोगितालाई थप चर्चामा ल्याएका छन् ।
त्यस्तै, डेभिड मिलर, डेभिड वार्नर र आन्द्रे रसेलजस्ता चर्चित विदेशी खेलाडीको सहभागिताले पनि यसपटकको एनपीएलको आकर्षण बढाएको छ ।

