धनगढी– बझाङको थलारा गाउँपालिका–२ मा आयोजित प्रथम रतन स्मृति कप २०८३, भलिबल प्रतियोगिता तथा डेउडा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्तिक २७ गतेदेखि रतन स्मृति युवा क्लबको खेलमैदान दंगार्जीमा सुरुभएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
प्रथम रतन स्मृति कप २०८३, भलिबलको उपाधि च्याम्पियन टेक मेमोरियल थलारा– १ बनेको छ । फाइनल भिडन्तमा टेक मेमोरियल सँग पराजित भएको प्रकाश स्मृति थलारा–२ उपविजेता बनेको कार्यक्रम संयोजक रोहित चनाराले जानकारी दिए । यस्तै तृतीय दिपिल स्पोट्र्स बनेको छ ।
उनका अनुसार उपाधि बिजेता टेक मेमोरियलले नगद २० हजार १ रुपैयाँ सहित मेडल कप प्रमाणपत्र, उपबिजेता प्रकाश स्मृतिले नगत १२ हजार सहित कप मेडल प्रमाणपत्र र तृतीय दिपिलले ७ हजार नगद सहित कप मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता थलारा गाउँपालिका वडा स्तरीय भएको हो, जसामा २१ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
देउडा तथा सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय प्रख्यात कलाकार बिजय धामी र रमा धामीको प्रस्तुति रहेको थियो ।
जनयुद्धका क्रममा ज्यान गुमाएका रतन दाहालको सम्झना तथा भलिवल खेलको विकास, स्थानीय प्रतिभा पहिचानमा सहयोग पुर्याउने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको थियो ।

