काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सहभागी हुन चाहने उम्मेदवारका लागि अनलाइन आवेदन प्रक्रिया सुरु गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गर्दै आवश्यक न्यूनतम शैक्षिक तथा तालिमसम्बन्धी योग्यता पूरा गरेका उम्मेदवारबाट मंसिर ७ गतेदेखि दरखास्त माग गरेको हो ।
आयोगका अनुसार इच्छुक उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन् । उक्त समयभित्र आवेदन दिन छुटेकाले दोब्बर दस्तुर बुझाएर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न पाउनेछन् ।
अनलाइन आवेदनका क्रममा उम्मेदवारले हालसालै खिचेको फोटो, हस्ताक्षरको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र अध्यापन तालिमको प्रमाणपत्रलगायत आवश्यक कागजात अपलोड गर्नुपर्नेछ ।
परीक्षाको योग्यता, आवेदन प्रक्रिया र अन्य आवश्यक विवरण शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामार्फत हेर्न सकिने आयोगले जनाएको छ ।


