बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिका अधिवेशन नै नगरी जिल्ला नेतृत्व चयन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका छन्। आवश्यक प्रक्रिया र सूचनाबिनै वैधानिक मापदण्डविपरीत जिल्ला नेतृत्व चयन गरिएको भन्दै आलोचना र विरोध सुरु भएको हो।
राप्रपाका नेता किशोर भण्डारीले २५ सदस्यीय जिल्ला समितिमध्ये ४–५ जनाले मात्रै हस्ताक्षर गरेर अवैधानिक रूपमा अधिवेशनको नाटक गरिएको आरोप लगाए। उनले भने, ‘तल्ला कमिटीहरूको अधिवेशन नै नगरी केही व्यक्ति मिलेर नेतृत्व चयनको नाटक गरेका छन्। यो अवैधानिक प्रक्रिया हामीलाई कुनै हालतमा मान्य छैन।’
त्यस्तै, राप्रपा पर्यटन विभागका केन्द्रीय सदस्य किशोर खड्काले पारदर्शी र प्रक्रियागत ढङ्गले अघि बढ्नुको साटो कसैलाई जानकारी नदिई ‘झ्यालबाट’ अधिवेशन गरिएको आरोप लगाए। उनले भने, ‘संगठन विस्तार र कमिटी निर्माणतर्फ ध्यान छैन, केवल जिल्लाका अध्यक्ष फेरबदल गर्ने काम भइरहेको छ। निर्वाचन समितिले समेत हस्ताक्षर नगरेको पत्र पठाएर प्रक्रिया अघि बढाइएको छ। यसमा मेरो घोर आपत्ति छ।’
अर्कातर्फ, राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष वीरेन्द्र मल्लले संगठनमा जनशक्तिको अभावका कारण समस्या सिर्जना भएको बताएका छन्। वडा तथा पालिका तहमा संगठनमा आबद्ध भएर काम गर्ने व्यक्तिको अभाव रहेको र जिल्लामा अध्यक्षका आकांक्षी बढी भएकाले सहमति जुटाउन कठिन भएको उनको भनाइ छ। मल्लले चुनावमा सहयोग नगर्नेहरूले मात्र विवाद सिर्जना गरेको आरोप लगाए।
उनले भने, ‘वडा र पालिका तहमा संगठनमा बस्ने मान्छे नभएपछि मैले केन्द्रको परिपत्रअनुसार जिल्ला अधिवेशन गरेको हुँ। अब केन्द्रले नै यसबारे अन्तिम निर्णय गर्छ। अध्यक्ष म बन्ने कि अरू बन्ने भन्नेमा मात्रै होडबाजी छ। धेरैलाई नेतृत्व लिन आग्रह गर्दा कोही अघि सरेनन्। किशोर भण्डारीलाई अध्यक्ष बनाउन खोज्दा उहाँ बैठकमा समेत उपस्थित हुनुभएन।’
मल्लका अनुसार जिल्ला अध्यक्षका लागि विश्वप्रकाश जेठाराको नाम सिफारिस गरी केन्द्रमा पठाइसकिएको छ। यद्यपि, बझाङ राप्रपाभित्र अहिले दुई धार देखिएको छ। एउटा समूह किशोर भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छ भने अर्को समूहले जेठारालाई अध्यक्ष घोषणा गर्दै केन्द्रमा पत्र पठाइसकेको छ।
अधिवेशन विवादग्रस्त बनेकाले आफूले निर्णय प्रक्रिया तथा पत्रमा हस्ताक्षर नगरेको राप्रपाले निर्वाचन समितिको संयोजकका रूपमा खटाएका दिनेश खड्काले स्पष्ट पारेका छन्।

