धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको रौनक छाएको छ। प्रत्येक वर्ष भदौ १८ गतेदेखि सुरु हुने बिस्सती जात अर्थात् बिर्सती मेला अहिले थलिनौबिस क्षेत्रमा विशेष उल्लासका साथ मनाइँदैछ।
भदौ १८ गते साँझ लेकगाउँ र दौलाको दैपाण अर्थात् देउघरमा पूजा-आराधना सुरु गरेपछि बिर्सती मेला प्रारम्भ भएको मानिन्छ। बिर्सती मेला कुनै तिथि वा पक्षका आधारमा नभई हरेक वर्ष भदौ १८, १९, २० र २१ गते मनाउने परम्परा रहेको स्थानीय बताउँछन्।
सुदूरपश्चिमकै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बिर्सती मेला पुनर्मिलन र सामूहिक सामाजिक स्मृतिको वार्षिक पर्वका रूपमा समेत स्थापित रहेको स्थानीयको भनाइ छ। महालिङ्ग, दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया तथा भक्तजनहरूले परापूर्वकालदेखि नै यो मेला मनाउँदै आएका छन्।
मेलाको अवधिभर कतिपय भक्तजन निराहार तथा फलफूलसमेत नखाई व्रत बस्ने गर्छन्। बाठपाला देवता अर्थात् गणेश देवता, महालिङ्ग र दुर्गा देवीको विशेष पूजा–आराधना गरिन्छ। यसरी श्रद्धापूर्वक पूजा–आराधना तथा व्रत बसेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।
यस्तो छ बिर्सती मेलासँग जोडिएको किंवदन्ती
स्थानीय बुढापाकाहरूका अनुसार महालिङ्गका पुत्र पाठपाला देउता बाटो-बाटोमा गोरु गोठालाहरूसँग चौतारी चिन्दै मठमन्दिर निर्माण गर्दै हिँड्ने क्रममा एक वृद्ध महिलाले ‘के गरेको यो?’ भनेर प्रश्न गरेकी थिइन्।
त्यसपछि ती वृद्ध महिलाले पाठपाला देउतालाई ‘यति शक्तिशाली भए जुम्लाको सिजाका राजालाई चिन्न लगाऊ’ भनेको किंवदन्ती रहेको छ। पाठपाला देउताले सिजाका राजालाई चिन्न लगाई आफ्नो शरणमा ल्याएको खुसियालीमा लेकगाउँका लेकाल दौल्याल, बझाङसहित विभिन्न जिल्लाका करिया तथा भक्तजनले विशेष पूजा-आराधना गर्दै मागल, देउताका फाग, चाभाइ तथा विभिन्न सांस्कृतिक गतिविधिसहित बिर्सती मेला मनाउँदै आएको स्थानीय जानकारहरू बताउँछन्।
परापूर्वकालदेखि निरन्तर मनाइँदै आएको बिर्सती मेलाले यस क्षेत्रको सामाजिक सम्बन्ध, धार्मिक आस्था र विश्वास, लोकपरम्परा तथा आर्थिक गतिविधिलाई जोड्दै आएको छ। मेलाका कारण स्थानीय व्यापार-व्यवसायमा समेत चहलपहल बढ्ने गरेको छ।
मेलाका प्रमुख आकर्षणमा चाभाइ खेल, भारी खेल, देउडा खेल, ढुस्काहरूको प्रदर्शन, ढाका जुधाउने प्रतिस्पर्धा तथा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम रहेका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मेलाले नयाँ पुस्तालाई समेत स्थानीय कला, संस्कृति र परम्परासँग जोड्ने काम गर्दै आएको स्थानीयको भनाइ छ।
मेलाको अवसर भलिबल
मेलाको अवसरमा २ लाखभन्दा ठूलो धनराशिको पुरुष भलिबल र ५० हजार भन्दा बढी धनराशिको महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
बिर्सती मेला मुल आयोजक समितिले जारी गरेको सूचना अनुसार पुरुष भलिबल प्रथम तर्फ २ लाख १ हजार नौबीस, र महिला तर्फ ५० हजार नौबीस व्यवस्था गरिएको छ ।
बाँकी जानकारी लिन तल रहेको सूचना हेर्नुस्..


