काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ ।
पुनर्निर्माणसँगै अबको केही दिनभित्रै नयाँ बनाइउको ट्रयाकबाटै गाडी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने छोटो दूरीको यो राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो ।
अहिले कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ । वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डखण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा गाडी आवतजावत हुने र विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ ।
यसअघि रोशी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो । चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट गाडी चलाइएको छ ।
चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ ।
२०८१ साल असोजको बाढीपहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको झण्डै ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । गाडी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो ।
क्षतिग्रस्त चार खण्डमध्येको खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।

