बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फत् पालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ६२ करोड १६ लाख ३ हजारको बजेट प्रस्तुत गरेको हो ।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्फ
११ करोड ६५ लाख, सशर्त अनुदानतर्फ ३१ करोड १४ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड ३२ लाख ९ हजार , विशेष अनुदान १८ करोड ८० लाख र समपूरक अनुदान तर्फको ६० लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ११ लाख २४ हजार, शशर्त अनुदान ४ करोड , समपूरक अनुदान ९२ लाख ८ हजार विशेष अनुदान ६६ लाख ५० हजार र राजस्व बाँडफाँड तर्फ २७ लाख ६२ हजार रुपैयाँ अनुमान गरिएको छ।
यस्तै आन्तरिक स्रोत अनुमानित ६७ लाख ५० हजार गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा केदारस्यूँ गाउँपालिकाले ७ वटा प्राथमिकताहरु तय गरेको छ । जसमा पहिलो नम्बरमा कृषि उत्पादनमा वृद्धि , व्यावसायीकरण र आत्मनिर्भरता राखिएको छ । त्यस्तै युवा रोजगार, उद्यमशिलता र स्थानीय बजारको विकास, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रवर्द्धनमार्फत पर्यटन विकास, शिक्षाको गुणस्तर सुधार र स्वास्थ्य सेवाको सुदृढीकरण, गुणस्तरीय र रणनीतिक पूर्वाधार निर्माणको निरन्तरता , सामाजिक सुरक्षा, समावेशी विकास र सुशासनको प्रत्याभूति र विपद् जोखिम न्यूनीकरण तथा वातावरण संरक्षण रहेका छन् ।


