धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद रहेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार नदीमा आएको बाढीले बगाएका दुवै महिलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको हो। शुक्रवार बिहान नदी किनारमा शव फेला परेको उनले जानकारी दिए।
प्रहरीका अनुसार दुवै महिला शुक्रवार बिहान च्याउ टिप्न जंगलतर्फ गएका थिए। सोही क्रममा नदीमा एक्कासी आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

