बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एडभान्स तालिम दिइरहेको छ ।
गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई एक महिने तालिम सञ्चालन गरिएको हो । यसअघि आधारभूत सीप तालिम लिइसकेका सहभागीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक ज्ञानसँगै उन्नत सीप सिकाउन एडभान्स तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय स्रोत र साधनको प्रयोगमार्फत स्वरोजगार सिर्जना गर्ने तथा घरेलु उत्पादनलाई व्यवसायिक बनाउन तालिम सञ्चालन गरिएको उद्यम विकास शाखा प्रमुख नरेश बहादुर जेठाराले जानकारी दिए । पहिलो चरणमा आधारभूत सीप सिकेका सहभागीलाई अब उत्पादनको गुणस्तर, डिजाइन, बजारीकरण तथा आधुनिक प्रविधिबारे थप ज्ञान दिइँदैछ उनले भने,,।
तालिममा अल्लो तथा भाङ्गो प्रशोधन, धागो तयारी, कपडा बुन्ने, झोला उत्पादन, डिजाइन निर्माण तथा उत्पादन व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गराइनेछ । तालिमपछि सहभागीहरूले स्थानीय स्तरमै उद्यम सञ्चालन गरी आम्दानी वृद्धि गर्न सक्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले बताए । उनलेे तालिमबाट विशेषगरी महिलाहरूको आर्थिक सशक्तीकरण, सीप विकास र स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । वडा नं ६,७,८ मध्येबिन्दू दहसैनमा सञ्चालन भइरहेको तालिममा ९ जनाको सहभागिता रहेको छ । उक्त तालिमको प्रशिक्षण प्रशिक्षक कलावती रोकाया खड्काले गरिरहनु भएको छ ।

