धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझाङ र वडा कार्यालयको संयुक्त साझेदारीमा स्थानीयलाई ७ दिने साबुन बनाउने तालिम प्रदान गर्न थालिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मानबहादुर धामी र वडाध्यक्ष बिजय बहादुर धामीले यहीँ चैत २४ गते संयुक्त रूपमा तालिमको उद्घाटन गरेको वडा कार्यालयले जनाएको छ ।
उद्घाटन समारोहमा वडा सचिव धनशेर बहादुर बुढाले तालिमको महत्वबारे प्रकाश पार्दै यस्ता सीपमूलक कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक सशक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै वडाध्यक्ष धामीले तालिमको लक्ष्य स्थानीय स्रोत र कच्चा पदार्थको उपयोग गर्दै साबुन उत्पादनलाई प्रोत्साहन गर्नु रहेको बताए । उनलेे यस्ता सीपमूलक तालिमले नागरिकलाई आत्मनिर्भर बनाउँदै साना उद्योगमार्फत आम्दानीको अवसर सिर्जना गर्ने धारणा राखे।
तालिममा ३० जना सहभागी रहेका छन्। सहभागीहरूलाई दुई समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत बिहान ८ बजेदेखि १२ बजेसम्म पहिलो समूह र दिउँसो १:३० बजेदेखि साँझ ५ बजेसम्म दोस्रो समूहलाई प्रशिक्षण दिइँदैछ। तालिमको प्रशिक्षण प्रशिक्षक तारा प्रसाद ओझाले गरिरहेका छन् ।
वडा कार्यालयको समन्वय र सहकार्यमा सञ्चालन भइरहेको यो तालिमले सहभागीहरूलाई व्यावसायिक सीप प्रदान गर्नुका साथै भविष्यमा स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

