बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका–३ गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।
प्रहरीका अनुसार कोली पाटन नगरपालिका–३ स्थित सुरुङ क्षेत्रको बाटोबाट करिब एक सय मिटर तल खसेर सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका हुन्।
मंगलबार घरबाट किनमेलका लागि पाटन बजार गएका कोली अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीमा खबर गरेका थिए। त्यसपछि खोजतलास गर्दा बुधबार बिहान करिब ८ बजे सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो।

