बढैपुर – कैलालीको गौरीगंगा नगरपालिका ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौरीगंगा नगरपालिका- ५ अण्डैयास्थित मोहन्याल माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी देवकोटाले शिक्षाको गुणस्तर सुधारमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनलेे सामुदायिक विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।
देवकोटाले “विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ,” भन्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको उल्लेख गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराए । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा शैक्षिक सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए भने विद्यालयको विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ।


