बझाङ : बझाङ जिल्लाको थलारा गाउँपालिका ७ माडुकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । केही वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त बनाएको जीर्ण भवनमै बसेर यहाँका विद्यार्थीहरू पठनपाठन गर्न बाध्य भएका छन् ।
कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा करिब चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर सुरक्षित र व्यवस्थित भवनको अभावका कारण विद्यार्थीहरूले जोखिमपूर्ण वातावरणमै पढ्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।
भूकम्पपछि भवनमा चिरा परेका कारण विद्यालयको संरचना कमजोर बन्दै गएको छ । वर्षायाममा पानी चुहिने र भवन भत्किने जोखिमका कारण विद्यार्थी तथा शिक्षकहरू त्रासपूर्ण वातावरणमै पठनपाठन सञ्चालन गरिरहेका छन् ।
यसैबीच बझाङका माननीय ऐन महर ले विद्यालयको जीर्ण भवनको अनुगमन गरेका छन् । निर्वाचन जितेपछि जिल्लाका विभिन्न समस्या नजिकबाट बुझ्न गाउँगाउँ पुग्ने क्रममा उनले भवानी माध्यमिक विद्यालयको अवस्था पनि अवलोकन गरेका थिए ।
स्थानीयवासी तथा अभिभावकहरूले विद्यालय भवन निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल नभएको गुनासो गरेका छन् । सुरक्षित भवन निर्माण गरी विद्यार्थीलाई सहज वातावरणमा शिक्षा लिन पाउने व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।

