काठमाडौँ– प्रगतिशील राष्ट्रिय अभियान, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) र विभिन्न वैकल्पिक समूहहरूलाई एकीकृत गर्दै बनेको नयाँ पार्टीको आज औपचारिक घोषणा हुँदैछ।
बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारलगायत नेताहरूको नेतृत्वमा गठन भएको यो नयाँ पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ राखिएको छ।
भट्टराईको नेसपा (नयाँशक्ति), जनार्दन शर्माको नेतृत्वमा सुदन किराँती संयोजक रहेको प्रगतिशील राष्ट्रिय अभियान, र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारसहितका नेताहरू मिलेर यो पार्टी बनाइएको हो।
पार्टी घोषणा समारोह आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा सुरु हुने प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजक समिति सदस्य जन्मदेव जैशीले जानकारी दिए।
कार्यक्रममा डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, दुर्गा सोबललगायत नेताहरूले संयुक्त रूपमा एकता घोषणा गर्ने छन्।
पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको भए पनि अद्यावधिक प्रमाणपत्र भने आइसकेको छैन। अहिले सनाखतको प्रक्रिया चलिरहेको र पार्टीको चुनाव चिन्ह ‘आँखा’ रहने निश्चित भएको जैशीले बताए।

