काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। बुधबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले हरायो।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै उतरेको काठमाण्डु १६.५ ओभरमै सबै विकेट गुमाउँदै ११८ रनमै समेटिएको थियो। काठमाण्डुका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा १४७ रन जोडेको थियो। टोलीका हर्मित सिंहले सर्वाधिक ५३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन थपे। काठमाण्डुको बलिङतर्फ कप्तान करण केसीले ४ विकेट लिए।
यस संस्करणको एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन्। मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ।

