चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्ष अगाडि नै फरक समूहमा विभाजित भइसकेका थिए। यसले मानव विकासको प्रारम्भिक चरण अफ्रिकाभन्दा एसियामा नै हुनसक्ने सङ्केत दिएको छ।
‘युन्जियन–२’ नाम दिइएको उक्त खोपडी सुरुमा होमो इरेक्टस को अवशेष मानिएको थियो। तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू पाइएको छ। यसले मानव विकासको जटिलता धेरै पहिले नै सुरु भएको देखाएको छ।
लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार झन्डै १० लाख वर्षअघि नै मानव पुर्खाहरू विभिन्न समूहमा विभाजित भइसकेका थिए। यो तथ्य पहिलेको अनुमानभन्दा धेरै पहिलेको भएको हो।
परम्परागत रूपमा प्रारम्भिक मानवहरूको उत्पत्ति र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ। तर यो नयाँ निष्कर्षले उक्त दृष्टिकोणमाथि प्रश्न उठाएको छ।
ग्रिफिथ विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल पेट्राग्लियाका अनुसार पूर्वी एसिया मानव विकासको महत्वपूर्ण केन्द्र हुनसक्ने संकेत देखिएको छ। साइन्स जर्नलमा प्रकाशित यस अध्ययनमा खोपडीलाई एक सयभन्दा बढी अन्य नमूनासँग तुलना गरिएको थियो।

