धनगढी- कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा तथा चुनावी अधिवेशन आगामी असोज २५ गते हुने भएको छ।
जेनेजी आन्दोलनका कारण स्थगित भएको अधिवेशनबारे सर्वपक्षीय बैठकले नयाँ मिति तय गरेको हो। संघका अध्यक्ष पुष्पराज कुँवरले एक भिडियो सन्देशमार्फत सबै उद्योगी व्यवसायीलाई अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।
यसअघि भदौ २८ गते गर्ने भनिएको अधिवेशन आन्दोलनका कारण कफ्र्यु लागेपछि स्थगित भएको थियो। दसैं–तिहारको बीचमा उपयुक्त मिति निर्धारण गर्ने सहमतिअनुसार असोज २५ गते अधिवेशन गर्ने निर्णय गरिएको हो।
२२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ। अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दिएका छन्।
साथै, पदाधिकारी तथा सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। संघका २,२७४ जना सदस्यले मतदानमा सहभागी हुनेछन्।

