काठमाडौं- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज (औँसी तिथि) श्राद्धसहित समापन हुँदैछ। दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी पितृपक्षको समापन गर्ने परम्परा रहेको छ।
१५ दिनसम्म चल्ने यो श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज औँसी तिथि भएकाले, कुनै कारणवश अरू दिन श्राद्ध गर्न नसकिएका भए आज गर्नुपर्ने शास्त्रीय मान्यता छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आज पनि गर्न नसकेमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीभित्र श्राद्ध गर्न सकिन्छ। त्यतिबेला पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा मङ्सिरसम्मका केही विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प छ।
श्राद्ध नगरे पितृ असन्तुष्ट भई श्राप दिन्छन् भन्ने विश्वास धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ। त्यसैले श्रद्धा–भक्तिसाथ श्राद्ध गर्नु सन्तानको दायित्व मानिन्छ।
यस अवसरमा राजधानीको गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणीलगायत प्रमुख तीर्थस्थलमा आज पनि श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
सोह्रश्राद्ध सकिएसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। असोज ६ गते सोमबार घटस्थापनासँगै दुर्गापक्षको शुभारम्भ हुनेछ।

