हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सामान्य स्थान र पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर अवस्थित छ। सिक्किम आसपास बनेको निम्नचापीय क्षेत्रको प्रभाव नेपालमा विशेषगरी पूर्वी भूभागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य ठाउँमा आंशिक बदली छ।
आज दिउँसो देशका पहाडी भागमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।
आज राति कोशी र मधेस प्रदेशसहितका पहाडी भागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी तराईका एक–दुई स्थानमा समेत भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले विशेषगरी कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

