बैतडी- भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, गएको तीन वर्षमा हराएका व्यक्तिहरूमध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ।
आर्थिक वर्ष २०७९/८० मा एक सय पाँच जना हराउँदा ९१ जनालाई फेला पारिएको थियो। तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आव २०८०/८१ मा एक सय १५ हराउँदा ११३ फेला परे, भने आव २०८१/८२ मा एक सय २२ हराएका मध्ये ८६ मात्र फेला परेका छन्।
प्रहरी प्रवक्ता बलराम पाण्डेयका अनुसार, बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी छ। गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र १ ज्येष्ठ नागरिक बेपत्ता भएका थिए। तीमध्ये ८६ जना फेला परेका छन्।
प्रहरीले भनेका छन् कि कतिपयले बेपत्ता भएको जानकारी नदिने भएकाले तथ्याङ्क बढ्दै गएको छ। बैतडी भारतसँग खुला सीमा भएकोले धेरैजसो हराएका व्यक्ति भारततर्फ जाने गरेका छन्। सामाजिक सञ्जालको दुरुपयोगले पनि घटना बढाएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयले बेलाबेलामा समस्या परेका नागरिकको उद्धार गर्दै आएको छ। गत आवमा पाँच महिला, दुई बालक र तीन बालिकालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको थियो। साना उमेरका बालबालिकालाई भारत जान नदिने गरी सीमा नाकाबाट उद्धार गर्ने काम पनि नियमित रूपमा हुँदै आएको छ।

