काठमाडौँ- अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौँ खेलमा नेपाल आज मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल पार्मस्टनमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
लगातार तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकस, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।
शृङ्खलामा ११ टोली सहभागी छन् र हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछ। नेपालले पर्सि शुक्रबार पाकिस्तान साहिन्ससँग आफ्नो छैटौँ खेल खेल्ने तालिका रहेको छ।
टप इन्ड टी–२० शृङ्खला तथा त्यसपछिका अभ्यास खेलहरू नेपालले आगामी आईसीसी टी–२० विश्वकप छनोटका तयारीका रूपमा अस्ट्रेलियामै खेलिरहेको हो।

