काठमाडौँ- एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेल खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ। घर फर्किनुअघि नेपालले आइतबार समूह ‘ए’ को अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को भारी हार बेहोरेको थियो।
भूटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो।
छनोटमा नेपालले ३ खेल खेल्दै १ जित, १ बराबरी र १ हारसहित ४ अंक जोड्न सफल भयो। पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जीत हासिल गरेको थियो।
समूह ‘ए’ मा सबै खेल जितेको उत्तर कोरिया ९ अङ्कसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपमा प्रवेश गरेको छ।

