बझाङ- बझाङको झनाना क्षेत्रमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई दिने भनिएको ५–५ लाखको चेक खोसिएको आरोपमा सुरतबहादुर मल्ल र अरुणप्रसाद थपलियाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बझाङमा भएको निर्णयअनुसार मृतक लोकेन्द्रबहादुर घर्ती र सञ्जय बुढाका परिवारलाई जनही ५ लाख राहत दिने तय भएको थियो। तर पीडितका अनुसार चेक वितरणका क्रममा प्रशासन कार्यालयको गेट बाहिर दुबै आरोपीले धम्की दिँदै चेक खोसेका हुन्।
उक्त दुर्घटना केही समयअघि झनाना नजिकैको पक्की पुलमाथि भएको थियो। ट्याक्टर सुरतबहादुर मल्लको स्वामित्वमा रहेको र दिव्य ज्योति कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको थियो।
पीडित परिवारका तर्फबाट जाजरकोट भेरी नगरपालिका–२ का धनबहादुर घर्ती, तुले घर्ती र कृष्णबहादुर बुढाले उजुरी दिएका छन्। उनीहरूका अनुसार आरोपितहरूले मृतकका परिवारलाई दिइएको चेक खोसेर सट्टामा २ लाखको मात्र चेक थमाइ रकम खातामा आउने भन्दै आजसम्म नदिएको गुनासो गरेका छन्।
रुदै प्रशासनमा पुगेका मृतकका आफन्तले “छोराको मृत्युको पीडा माथि फेरि आर्थिक ठगीको चोट दिइयो” भन्दै कारबाहीको माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारी कैलाश ठकुरीका अनुसार आइतबार दर्ता भएको उजुरीका आधारमा चेक खोस्ने र मृतकका परिवारलाई ठग्ने घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही अघि बढाइनेछ।


