भारतको उत्तराखण्डमा हालैको बाढी र पहिरोका कारण जाजरकोटका १२, बर्दियाका ५ र जुम्लाका १ गरी १८ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन्। तीमध्ये अधिकांश मजदुरी गर्न र स्याउ टिप्न गएका थिए।
मंगलवार आरिघोप्टे वर्षाले उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधवार पौडीगढवाल नजिकै सिन्धु खोला किनारमा पहिरो खसेको थियो। प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूमध्ये धेरैजना जाजरकोटको कुशे गाउँपालिका–२ का हुन्।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले १३ जनाभन्दा बढी बेपत्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन्। पालिकाले खोजी तथा उद्धारका लागि प्रदेश र सङ्घ सरकारमार्फत परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि आग्रह गरेको छ।
यसैबीच, बर्दियाका ५ जना नेपाली पनि पहिरोमा परेर सम्पर्कविहीन भएको जानकारी आएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग समन्वयमा उद्धार कार्य भइरहेको जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।

