भारतको महाराष्ट्र राज्यअन्तर्गत रत्नागिरी जिल्लाको राजापुर क्षेत्रस्थित एक उद्योगमा कार्यरत नेपाली युवा राजु चौधरीको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। कैलालीको गौरिगङ्गा नगरपालिका–४, राजीपुर खल्ला शिविरका अन्दाजी २३/२४ वर्षीय चौधरी विगत दुई वर्षदेखि सोही क्षेत्रमा श्रमिकको रूपमा कार्यरत थिए।
उनको असमायिक र शंकास्पद मृत्युको खबरले प्रवासी नेपाली समुदाय स्तब्ध भएको छ। दैनिक श्रम मार्फत परिवारको भविष्य सुनिश्चित गर्ने प्रयासमा रहेका चौधरीको निधनले परिवार, समाज र प्रवासी नेपालीबीच शोकको वातावरण छाएको छ।
मृतक चौधरीको पार्थिव शरीर नेपाल ल्याई परिवारको जिम्मा लगाउने पहल गौरिगङ्गा नगरपालिका युवा क्लबका अध्यक्ष मुक्ति खनाल, मृतकका आफन्तजन र प्रवासी नेपाली सम्पर्क मञ्च–भारत का केन्द्रीय उपप्रमुख दिपक राज आचार्य को विशेष समन्वयमा गरिएको हो। हाल शव नेपाल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।
यस मानवीय कार्यमा प्रवासी नेपाली सम्पर्क मञ्च भारत–महाराष्ट्र राज्य का कोषाध्यक्ष अर्जुन विक,क्युआरटी सदस्यसहित रत्नागिरी नगर समितिका पदाधिकारीहरू र केन्द्रीय सदस्य छविराज बास्तोला को सक्रिय सहयोग रहेको बताइएको छ।
प्रवासी भूमिमा श्रम गर्दै आएका हजारौँ नेपालीको जीवन जोखिममा रहेको यथार्थलाई यस घटनाले पुनः उजागर गराएको छ। प्रवासी नेपालीहरूको सुरक्षा, सम्मान र मानवअधिकार सुनिश्चित गर्न आवश्यक नीति तथा पहलप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

