भारतको बिहार राज्यमा बुधवार र बिहीवार आएको भीषण आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। चट्याङ लागेर केही व्यक्ति घाइते भएका छन्।
भारतको विपद् व्यवस्थापन विभागले बिहीवार विज्ञप्ति जारी गर्दै अधिकांश मृतकहरू खुला ठाउँमा काम गरिरहेका किसान तथा मजदुर रहेको जनाएको छ।
बिहारका विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले चट्याङसम्बन्धी पूर्वचेतावनीलाई गम्भीर रूपमा लिएर नागरिकलाई सुरक्षित रहन जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।
पटनाको केही भागमा अझै भारी वर्षा र चट्याङको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
बिहारमा चट्याङका कारण सन् २०२३ मा २७५ र २०२४ मा हालसम्म २४३ जनाको मृत्यु भइसकेको तथ्यांक छ।

