काठमाडौँ– चिया बगान बाहेकका क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भई मासिक १९ हजार ५५० रुपैयाँ पुगेको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमतिअनुसार नयाँ तलब दर साउन १ गतेदेखि लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
यो दर अघिल्लो न्यूनतम तलबभन्दा २ हजार २५० रुपैयाँले बढी हो। यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३०० रुपैयाँ थियो।
चिया बगानमा कार्यरत श्रमिकका लागि भने सम्बन्धित सरोकार पक्षहरूसँग थप छलफलपछि नयाँ तलब दर निर्धारण गरिने मन्त्रालयले जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार औद्योगिक सम्बन्ध सुमधुर बनाउन सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षले लचकता अपनाउँदै आपसी सहमतिमा पारिश्रमिक निर्धारण गरेका हुन्। “सहमतिको आधारमा निर्धारण भएकाले कार्यान्वयनमा लैजान सहज हुनेछ,” मन्त्री भण्डारीले बताउनुभयो।
श्रम ऐन, २०७४ अनुसार हरेक दुई आर्थिक वर्षमा अनिवार्य रूपमा न्यूनतम पारिश्रमिक पुनर्निर्धारण गर्नुपर्ने व्यवस्था छ।

