काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
दिउँसोको अवस्था :
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशसहित अन्य पहाडी भू–भागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। साथै, देशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको अवस्था :
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च–पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागको भनाइ छ।
त्यस्तै वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिमसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

