देशको पश्चिमी क्षेत्रमा अहिले व्यापक वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै जिल्लामा पानी परिरहेको छ भने पूर्वी नेपालमा वर्षा घटेको छ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पश्चिममा वर्षा गराउने प्रणाली आगामी ४–५ दिनसम्म सक्रिय रहनेछ। हाल कोशी, मधेस, बागमती, गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। पश्चिममा पश्चिमी वायु र स्थानीय वायु सक्रिय छन्।
भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले देशभर बादल लागेको छ। आज कोशी, बागमती र गण्डकीका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ भने कोशी र मधेसमा हावाहुरीसहित चट्याङसमेत हुन सक्ने पूर्वानुमान छ। रातिको समयमै कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही भागमा ठूलो पानी पर्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

