बझाङ,
प्रेस चौतारी नेपाल बझाङ शाखाले नवनियुक्त केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भुवनबहादुर सिंहलाई आज दिउँसो एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरेको छ । कार्यक्रम प्रेस चौतारी बझाङ शाखाको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिंहलाई खादा प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामी, सहसचिव सुरेन्द्र खत्री, पूर्व पदाधिकारी, सञ्चारकर्मी, उपस्थिति थियो । साथै, विशेष अतिथिका रूपमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य रमेश केसी तथा पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंह पनि कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष सुरेश धामीले भुवनबहादुर सिंहको लामो समय पत्रकारिता अनुभव, संगठनमा देखाएको समर्पण र निष्पक्ष भूमिकाको प्रशंसा गर्दै उहाँको नेतृत्वमा बझाङको पत्रकारिता थप सशक्त, उत्तरदायी र समाजमुखी हुने विश्वास व्यक्त गरे ।
साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले पनि सिंहलाई बधाई दिँदै समाज परिवर्तनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । त्यसैगरी, निवर्तमान केन्द्रीय सदस्य रमेश केसी र पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंहले सिंहको कार्यकुशलता, लगनशीलता र संगठनप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै शुभकामना व्यक्त गरे । सम्मान ग्रहण गर्दै भुवनबहादुर सिंहले प्रेस स्वतन्त्रता, उत्तरदायी पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको हक–हितको संरक्षणका लागि आफू निरन्तर क्रियाशील रहने दृढता व्यक्त गरे । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

