गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि चुरे गाउँपालिका ६ का कुमैना, सिराडी, चौमासे लगायतका बस्तीमा पानीको अभाव हुन थाले पछि एक गाग्री पानी लिन एक घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चढ्नुपर्ने बाध्यता छ ।
प्रत्येक घरबाट पानी लिनका लागि एक जना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै सिराडीका स्थानीय जयराज धामी भन्छन् ‘वरपर मुहान छैन एक घण्टा हिँडेर एक गाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।’ नजिकैको मुहानको पानी खान प्रयोग गर्ने गरिन्थ्यौ तर अहिले मुहानको पानी सुकेपछि त झन् समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ ।
स्थानीय नवीन ठगुन्नाले पीडा सुनाउँदै भने, ‘बिहानै उठेर पानी लिन जानुपर्छ ५ बजे पानी लिन गएको मानिस पालो कुर्दा कुर्दै ८ बजे फर्किन्छ, पानीकै लागि समय दिन परेकाले केटाकेटीलाई समयमा विद्यालय पठाउन सकिँदैन यसले गर्दा तिनको पढाइसमेत बिग्रेको छ । दिनभरि पानी बोकेको मानिसकै लागि त पु¥याउन सकिँदैन, बस्तुभाउलाई कहाँबाट पु¥याउनु ? यस्तै अभाव भोग्दै जानुपर्ने हो भने बस्तुभाउ पाल्न सकिँदैन ।’
वर्षामा पानीको समस्या नहुने भए पनि पानी नपरेपछि सबै मुहान सुक्न थालेका हुन् । ‘उच्च बस्ती भएका कारण पानीका मुहान पनि कम छन्, त्यसमा पनि लामो खडेरीले गर्दा पानीका सबै स्रोत सुक्ने कारणले लिफ्ट प्रणालीको पानी ल्याउनुबाहेक विकल्प नभएकाले यसका लागि लिफ्ट प्रणालीको काम भइरहेको थियो । पानी आयो भन्ने कुरा पनि सुनेका थियौ । पछि बन्द भएको भन्ने न त कसैबाट गुनासो आयो , न त कसैले गुनासो गरे ।,’चुरे गाउँपालिका ६ का वडाध्यक्ष प्रेम साउदले भने ।
यस्तै अहिले चुरेका अधिकांश ठाउँमा खाने पानीको समस्या छ । चुरे गाउँपालिका–१ मुडेतिमिलामा पनि खानेपानीको अभाव भएपछि त्यहाँको बस्ती नै काकाकुल बनेको छ । एक गाग्री पानी लिनका लागि एक घण्टा समय खर्चनु परेपछि सिङ्गो बस्ती नै काकाकुल बनेको धुर्ब बोहराले बताए । बिस घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको सङ्कटले बस्ती नै सर्नुपर्ने समस्या देखिएको छ ।
‘नजिकका पानीका मुहान सुकिसके एक गाग्री पानी लिनका लागि एक घण्टा पैदल तल झरेर पानी ल्याउनुपर्छ पानीको समस्या समाधान भएन भने बस्ती नै उठ्न सक्छ ।,’ उनले भने,‘घरका पाका व्यक्तिले दिनभरि पानी ओसार्ने भएपछि बालबालिकाको पढाइमा समेत असर परेको छ ।’
“ नेताहरू आउँछन्, भोट दिनुहोला भन्छन्, पानीको समस्या रहेछ, हामी समाधान गर्छौँ भन्छन्, आश्वासन दिन्छन् ,जान्छन्, जितिसकेपछि फर्केर आउँदैन ।” उनी भन्छन् ।
चुरेका ६ वटै वडाका धेरै बस्तीमा खानेपानीको अभाव छ । पानी ओसार्नका एक जनासम्म दिनभरि खटिनुपर्छ । खानेपानीको अभावका कारण यहाँका बासिन्दाले बसाइँ सराइ गर्न पर्ने अवस्था छ ।
( यमुना साउँदद्वारा खोजमुलक रिपोर्टिङ सुदूरपत्र अन्लाईनबाट साभार )


