धनगढी, ०८२।०१।१४ — धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय र प्रहरी निरीक्षक (प्रनि.) योगेश खत्रीको संयुक्त टोलीले गौरीगंगा नगरपालिका–८ बस्ने ५३ वर्षीया बेलमती बोहरा लाई लागुऔषधसहित पक्राउ गरेको छ।
शनिबार बिहान ९:३० बजे शंका लागि जाँच गर्दा बोराडाडी क्षेत्रबाट बोहराको साथमा लागुऔषध जस्तै देखिने २ केजी ५८० ग्राम चरेश फेला परेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन्। लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा गरिएको उक्त अपरेसन सफल भएको बताउँदै निरीक्षक खत्रीले भने, “हामी निरन्तर निगरानीमा छौं। स्थानीय समुदायको सहयोगले यस्ता घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सहज भएको छ।”

स्थानीयवासीहरूका अनुसार, निरीक्षक खत्रीले वडा इञ्चार्जको जिम्मेवारी सम्हालेयता यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई बारम्बार पक्राउ गरिएकाले पछिल्लो समयमा लागुऔषधसम्बन्धी घटनाहरूमा उल्लेख्य गिरावट आएको छ।
पक्राउ परेकी बोहरा विरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

