बझाङ — हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलनको समय सुरु भएसँगै बझाङका स्थानीय यार्चा पाइने पाटन (लेक) तिर जान थालेका छन् । यार्चागुम्बा मुख्य आयस्रोत भएकाले स्थानीयहरू आवश्यक उपभोग्य सामग्रीसहित पाटन पुग्न थालेका हुन् ।
जिल्लाको बुङ्गल नगरपालिका, सुर्मा, साइपाल, छबिसपाथिभेरा, दुर्गाथलि, मष्टा , तलकोट गाउँपालिका लगायत क्षेत्रका बासिन्दाहरूले सातु–सामल (खानेकुरा, ओढ्ने ओछ्याउने सामग्री) सहित यार्चा पाइने पाटनतिर पुग्न थालेको स्थानीयहरूले बताए ।
स्थानीयहरू बाटोको अवस्था, हिउँको अवस्थालगायत प्रारम्भिक जानकारी लिएर फर्किरहेका छन् भने केही दिनमै यार्चा सङ्कलनका लागि पाटनमै बसाइ सर्ने तयारीमा छन् ।
बझाङको बुङ्गल नगरपालिका , सुर्मा गाउँपालिका, साइपाल गाउँपालिका लगायतका पाटनमा यार्चागुम्बा पाइन्छ । यार्चा र अन्य जडीबुटीहरू अधिकांश स्थानीयको जीविकोपार्जनको आधार बनेका छन् ।
यस क्षेत्रका नागरिकले बैशाख जेठ असार ३ महिना यार्चागुम्बा संकलन गरेर जीविका चलाइरहेका छन् ।
यार्चागुम्बा संकलन गर्ने यो समयमा गाउँघर रित्तो र लेकालि भूभाग भरिभराउ हुने गरेका छन् । यो समय गाउँघरमा बुढापाखा अशक्त र बालबालिकालाई मात्रै भेटिन्छन् । यार्चागुम्बु संकलन गर्नु आफ्नो जीविकोपार्जन गर्ने पाटो भएको सुर्मा गाउँपालिका- ४ का स्थानीयहरूले बताए ।
उनीहरू भन्छन् , गाउँका अधिकांश घरमा ताला लगाए लेकतिर जाने गरेका छन् ।
यार्चागुम्बा संकलनका क्रममा कतिपयको ज्यान समेत जाने गरेको छ । हिमपहिरो, भिरबाट लडेर, चिसोले कठ्याग्रिएर र लेक लगाएर कयौं मृत्युु भएको हो । तर जीविका चलाउने एउटै यहीँ माध्यम भएका कारण लेकतिर जानेको संख्यामा भने कमि आउन सकेको छैन । जीवनलाई मृत्युको मुखमा राखेर यहाँका नागरिकले ३ महिना लेकतिर (हिमाल) मा त्रिपाल मुनि समय विताउने गर्छन् ।

