काठमाडौं- स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

