काठमाडौँ– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आजको मौसम पूर्वानुमान
दिउँसो: देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
राति: पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा रातिको समयमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

