काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।
लामिछानेलाई गत शुक्रबार राति (चैत २२) निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्दा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको आरोप रास्वपाले लगाएको छ।
रास्वपाका नेताहरूले बुधबार मानव अधिकार आयोगमा निवेदन दर्ता गर्दै लामिछानेलाई पक्राउ गर्दा प्रहरीले अशोभनीय र गैरकानुनी व्यवहार गरेको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमा पुगेर धरपकड गरेको जस्ता आरोप लगाएका छन्।
रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निवेदन बुझाएपछि भने, “राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गर्न खोज्यो। सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात राज्य संयन्त्र उत्रिएर सामान्य जीवनमा ठूलो हलचल ल्याउनेगरी कार्य गरेको छ। यसको घोर भर्त्सना गर्दछौं।”
रास्वपाले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र सामान्य पक्राउ पुर्जीसमेत नलिइ अदालतको आदेश नमान्ने प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ।

