ललितपुर – किशोरावस्थाको स्वास्थ्य तथा महिनावारी व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ। स्वास्थ्य शिक्षा, चेतना तथा अधिकार, नेपाल (हियर नेपाल) को आर्थिक सहयोगमा तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रको सहकार्यमा आयोजित उक्त प्रशिक्षणमा ललितपुरका २५ जना स्कूल नर्सहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा समाज कल्याण परिषद (SWC) का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। SWC सदस्य सचिवले किशोर स्वास्थ्य र प्रजनन स्वास्थ्य प्रवर्द्धनका लागि हियर नेपालले सञ्चालन गरेको कार्यक्रम दिगो विकास लक्ष्य (SDG) हरूसँग सम्बन्धित रहेको बताए। विशेष गरी, SDG 3 (स्वास्थ्य र कल्याण) तथा SDG 5 (लैंगिक समानता) मा जोड दिँदै उनले किशोर-किशोरीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभिवृद्धि गर्ने र सुरक्षित महिनावारी व्यवस्थापनको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए।
नेपालमा किशोर स्वास्थ्य प्रवर्द्धनका पहलहरू
नेपाल सरकारले राष्ट्रिय किशोर स्वास्थ्य तथा विकास रणनीति (National Adolescent Health and Development Strategy) लागू गरेको छ। यस अन्तर्गत विद्यालयस्तरीय स्वास्थ्य शिक्षा, किशोर-किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
SWC को भूमिकाः संस्थागत सहकार्यको आवश्यकता
समाज कल्याण परिषद (SWC) का प्रतिनिधिहरूले किशोर स्वास्थ्य प्रवर्द्धन गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताए। SWC ले गैरसरकारी संस्थाहरूसँग समन्वय गरी प्रभावकारी कार्यक्रम सञ्चालनमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
विशेषज्ञहरूको धारणा
बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपक तीवारीले स्कूल नर्सहरूका लागि किशोर स्वास्थ्य र महिनावारी व्यवस्थापन सम्बन्धी प्रशिक्षण अत्यन्त प्रभावकारी रहेको बताए। आयोजक संस्था हियर नेपालका अध्यक्ष माधव जोशीले स्कूल नर्सहरू स्वास्थ्य सूचनाका सच्चा सम्बाहक भएको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
प्रशिक्षक प्रा. डा. मन्दिरा शाहीले तालिमले स्कूल नर्सहरूको ज्ञानको दायरा फराकिलो बनाएको उल्लेख गरिन्। यस्तै, स्वास्थ्य शिक्षा विज्ञहरू कृष्णबहादुर चन्द र कुञ्जप्रसाद जोशीले किशोर स्वास्थ्य तथा सचेतनाका विविध पक्षबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रम समापनका अवसरमा सहभागी स्कूल नर्सहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजक संस्था हियर नेपालले किशोर स्वास्थ्य प्रवर्द्धनमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
आगामी लक्ष्यः २०० स्कूल नर्सहरूलाई प्रशिक्षण
यो प्रशिक्षण कार्यक्रम आठ ब्याचमा सम्पन्न गरिनेछ, जसअन्तर्गत बागमती प्रदेशका २०० जना स्कूल नर्सहरूलाई प्रशिक्षित गरिने आयोजक संस्थाले जनाएको छ। आयोजकहरूका अनुसार यस्ता तालिमहरू नेपालभरि सञ्चालन गरिनुपर्ने आवश्यकता छ, जसले किशोर स्वास्थ्य र लैंगिक समानता प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।

