अछाम – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अछाम-१ की समानुपातिक उम्मेदवार राधिका भुजेल ले निर्वाचित भएपछि जनपक्षीय कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
जिल्लाको रामारोशन गाउँपालिका- ५ चौकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै भुजेलले आफूहरूले जनताका वास्तविक समस्या नजिकबाट बुझेको बताउँदै आधारभूत आवश्यकता पूरा हुने गरी काम गर्ने संकल्प दोहोर्याइन्। महिला, बालबालिका तथा दलित समुदायको हितलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइने उनको भनाइ थियो।
पछिल्लो समय मतदातामा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले स्व-विवेक प्रयोग गरी जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गरिन्। “निर्वाचित भए जनताको अनुहारमा मुस्कान छर्नेछु,” उनले भनिन्।
यसैबीच भुजेलले एमालेका प्रत्यक्षतर्फका उम्मेदवार दिपक साउँद युवा पुस्ताको प्रतिनिधि भएको दाबी गरिन्। युवाको चाहनाअनुसार काम गर्ने स्पष्ट भिजन रहेको उल्लेख गर्दै उनले फागुन २१ गते सूर्य चिह्नमा मतदान गरी विजयी गराउन अपिल गरिन्।

