Advertisement

बझाङको केदारस्यूँमा रहेको जगन्नाथ माविमा शौचालय र घेरवार समस्या, जथाभावी पशुचौपायाका प्रवेशले पठनपाठन कार्य प्रभावित

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा शौचालय र घेरवारको समस्या रहेको छ। केदारस्यूँ गाउँपालिका-४ कालङ्गा नदिको छेउम सैन्स्यूँमा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा शौचालय र घेरवारको समस्या रहेको हो ।

बालकक्षा देखि १२ सम्म पठनपाठन हुने ३ सय जना विद्यार्थी अध्यनरत रहेको विद्यालयमा उपयुक्त शौचालय नहुँदा सौच गर्न समस्या हुने गरेको छ । विद्यालयका शौचालय पुरानो तथा जीर्ण बन्दै गएपछि समस्या उब्जिएको विद्यालयले जनाएको छ।

विद्यालयमा उपयुक्त बालमैत्री शौचालय नहुँदा विशेषगरी छात्र भन्दाबढी छात्रालाई समस्या हुनेगरेको कक्षा ९ मा अध्ययनरत छात्र रितिश मल्लले बताए । शौचालय अभावका कारण सेनेटरी प्याड परिवर्तन, फोहोर व्यवस्थापन तथा गोपनीयता जस्ता आधारभूत आवश्यकता पूरा हुन नसक्दा छात्राहरू विद्यालय आउन नै हिचकिचाउने गरेका शिक्षकहरूको भनाइ छ ।
विद्यालयमा गोपनीयता र स्वच्छता युक्त शौचालय नहुँदा छात्राहरूलाई सेनेटरी प्याड परिवर्तन गर्न कठिनाइ, लाज र असहजता, तथा सुरक्षित रूपमा फोहोर फाल्ने ठाउँ नहुँदा निकै सास्ती भोगिरहेको कक्षा ८ मा अध्यनरत छात्रा ममता भण्डारीले दुखेसो गरिन् ।

विद्यालयसँग भएको पुरानो तथा जीर्ण शौचालय पनि विद्यालयको हाताभन्दा बाहिरी रहेको छ । विद्यालय हाताभन्दा बाहिरी हुँदा शौचालयको सरसफाइ र संरक्षणमा समस्या हुनेगरेको प्रधानाध्यापक नरेन्द्र भण्डारीले बताए । उनलेे भने बालमैत्री उपयुक्त शौचालयको अभाव छ, भएका शौचालय पुरानो तथा जीर्ण अवस्थामा छन्, अहिले प्रयोगमा रहेको शौचालय त झन् विद्यालयको घेरवारभन्दा बाहिरी छ। विद्यालय भन्दा बाहिरी शौचालय हुँदा अनधिकृत व्यक्तिले तोडफोड तथा जथाभावी फोहोर गरिदिदा समस्या भएको हो। उक्त शौचालय २ पटक मर्मतसम्भार गरिएपनि अहिले जीर्ण अवस्थामा रहेको छ । प्रधानाध्यापक भण्डारीले शौचालयको समस्या बारे स्थानीय तहलाई जानकारी गराउँदा सुनुवाइ नभएको दुखेसो पोखे।

घेरवार नहुँदा पठनपाठन प्रभावित

२०३५ सालमा स्थापना भएको उक्त विद्यालयमा घेरवार नहुँदा पठनपाठन कार्य प्रभावित भइरहेको छ। विद्यालयको घेरवार सडक कटानको समयमा भत्किएपछि विद्यालयले घेरवारको समस्या भोग्नु परेको हो । घेरवार नहुँदा विद्यालय समयमा जथाभावी रुपमा पशुचौपाया प्रवेश गर्दा पठनपाठन कार्य प्रभावित हुनेगरेको प्रधानाध्यापक भण्डारीले बताए । विद्यालयमा पठनपाठन कार्य भइरहेको हुन्छ , प्रधानाध्यापक भण्डारीले भने , सोही समयमा पशुचौपाया प्रवेश गर्छन् , अनि पशुचौपाया धपाउने कि पढाउने समस्या भइरहेको छ ।
घेरवार अभावका कारण विद्यालयका संरचना संरक्षण तथा सरसफाइमा चुनौती थपिएको छ । विद्यालय सबैभन्दा बढी आवतजावत हुने क्षेत्रमा भएकाले पनि सुरक्षामा चुनौती थपिएको विद्यालयका लेखापाल मोहनबहादुर मल्लले जानकारी दिए ।

विद्यालयमा घेरवार निर्माणका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गरेको छ। गाउँपालिकाले विद्यालयको घेरवार निर्माणका लागि ३ लाखौं रुपैयाँ बजेट छुट्याएको हो । पालिकाले बजेट विनियोजन गरेको र घेरवार निर्माणका कार्यको तयारी भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

ग्रामीण क्षेत्रमा राज्यको ध्यान पुगेन् – अध्यक्ष मल्ल

सरकारले स्वास्थ्य शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । तर ग्रामीण भेगमा भने राज्यको नजर पुगेको देखिँदैन । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा राज्यको ध्यान पुग्न नसक्दा शिक्षा क्षेत्रमा विभिन्न चुनौती यथावत् रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत बहादुर मल्लले बताए । समुदायले सञ्चालन गरेको विद्यालयको अवस्था दर्दनाक भएको र यसमा राज्यको ध्यानाकर्षण हुन जरुरी रहेको अध्यक्ष मल्लको भनाइ छ।

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज