बझाङ- बझाङको बित्थडचिर गाउँपालिका ७ मा रहेको भुमिराज आधारभु विद्यालयका सेवानिवृत प्रधानाध्यापक देवदत्त जोशीको बिदाई गरिएको छ । ४० वर्ष लामो शिक्षण पेशाबाट मंसिर २ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकास भएपछि जोशीको आइतबार एक समारोहका बीच बिदाई तथा सम्मान गरिएको हो ।
बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुनाथ जोशीको अध्यक्षतामा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि सेवानिवृत प्रधानाध्यापक जोशीको विदाई कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक भक्त अधिकारीले जानकारी दिए ।
२०२२ साल मंसिर २ गते साविक सुनकुडा गाविस ६, हालको बित्थडचिर गाउँपालिका ७ टुडिखाणमा बुबा हरिलाल जोशी तथा आमा नन्दा देवी जोशीको कोखबाट जन्मिनु भएका जोशी २०४२ सालदेखि शिक्षण पेसामा अवद्ध भए । एसएलसी पास गरि सुनकुडा माध्यामिक विद्यालयमा सट्टा शिक्षकको रुपबाट शिक्षक पेशा अंगालेका जोशीले २०४५ सालसम्म उक्त विद्यालयमा स्वतन्त्र सेवा गर्नुभयो । त्यसपछि २०४६ साल जेठ ३१ गते स्थायी शिक्षक भएर केदारस्यूँ गाउँपालिका ४ मा रहेको जगन्नाथ माध्यामिक विद्यालय सैन्स्यूँमा नियुिक्त पाए । एक वर्षसम्म सोही विद्यालयमा शिक्षण गरेका जोशी २०४७ साल कार्तिक १ मा भुमिराज आधारभुत विद्यालय सुवाकोटमा सरुवा भएर गए । सो समयदेखि उक्त विद्यालयमा कार्यरत जोशी ३५ वर्षसम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहदानै सेवानिवृत भएका हुन ।
गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष,अन्य जनप्रतिनिधि, संस्थापक सदस्य, पुर्व जनप्रतिनिधि,अभिभावक, सामुदायिक विद्यालयका प्रअ तथा शिक्षक, विद्यालय व्यवस्थापन समिति,शिक्षक विद्यार्थीसहितको उपस्थितिमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि बिशिष्ट अतिथि अन्य अतिथिहरुले विद्यालयले तयार पारेको सम्मानपत्र सहित फुलमाला खादा र दोसल्ला ओढाएर सम्मान र विदाइ गरिएको थियो ।
विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विकासको क्षेत्रमा सेवानिवृत प्रधानाध्यापक जोशीले पुर्याउनु भएको महत्वपुर्ण योगदानको प्रसंशा सहित उच्च सम्मान गर्दै कार्यक्रममा बक्ताहरुले उनको आगामी सेवानिवृत जीवनको सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गरेका थिए । सेवानिवृत प्रधानाध्यापकलाई उक्त समारोहमा सहभागीहरुले बाजागाजासहित घरसम्म पुर्याएका छन ।
विदाई समारोहमा बोल्दै सेवानिवृत प्रधानाध्यापक जोशीले विद्यालयको संरक्षण, गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय बनाउन सबै अग्रसर हुनुपर्नेमा जोडदिए । त्यस्तै विद्यार्थीलाई पढाइप्रति उत्तरदायी हुन र कमिकमजोरी माफ गर्न अनुरोध गरे ।
वडाध्यक्ष र विव्यस अध्यक्षद्धारा फर्निचर प्रदान
सेवानिवृत प्रधानाध्यापकलाई फर्निचर सामाग्री हस्तान्तरण गरिएको छ । बित्थडचिर गाउँपालिका ७ का अध्यक्ष दिनेश अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुनाथ जोशीले संयुक्त रुपमा फर्निचर सामाग्री हस्तान्तरण गरेका हुन । जोशीको निवृत जीवनमा सहजता र विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विकासको क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै कुर्सी टेवल र दराज प्रदान गरेको जनाइएको छ । त्यस्तै शिक्षक स्टाफको तर्फबाट समेत मायाको चिनो स्वरुप दराज प्रदान गरिएको थियो ।
सेवानिवृत प्रधानाध्यापकद्धारा अक्षयकोष स्थापना
सेवानिवृत प्रधानाध्यापकले विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । विद्यालयको हरेक वर्षको वार्षिकोत्सब कार्यक्रममा ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । देवधर्म जोशी नाम दिएर विद्यालयमा स्थापना गरिएको अक्षयकोषको संरक्षकमा दुर्गादत्त जोशी र जनप्रकाश जोशी रहेका छन । उक्त छात्रवृत्ति जेहेन्दार, गरिब, विपन्न र टुहुरा विद्यार्थीले पाउनेछन ।

