धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा यूएईलाई ३ बलमा ३ रन आवश्यक रहँदा लगातार ३ विकेट गुमाउँदा नेपालले नजिकको जित दर्ता गर्न सफल भयो।
अन्तिम ओभर बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै नेपाललाई जित दिलाए।
यूएईका लागि आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।
यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
नेपालका ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।
युएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले एक–एक विकेट लिए।
यो जितसँगै नेपालले सुपर–६ मा लगातार दोस्रो जित दर्ता गर्दै २ खेलबाट ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
समान ४ अङ्क भएको ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने यूएई २ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।
सुपर–६ चरणमा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान, र समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।
नेपालले अब सुपर–६ मा भोलि कतारसँग खेल्नेछ, त्यसपछि बुधवार ओमान र शुक्रवार सामोआसँग भिड्नेछ।
सुपर–६ को शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्न अवसर पाउनेछन्।