बझाङ- दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न सरकारको तयारीबारे बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले चिन्ता व्यक्त गर्नुभएको छ।
सरकारले “गलत सूचना रोक्न र पारदर्शिता बढाउन” भन्दै आजदेखि दर्ता नभएका केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको छ। तर अध्यक्ष बोहराले भने यस कदमले ग्रामीण क्षेत्रका जनतामा थप प्रश्न उब्जिएको बताउनुभयो।
“यो कदमले हाम्रो आवाज दबाउने प्रयास हो कि? अभिव्यक्ति स्वतन्त्रता खोसिने हो कि? गाउँ–बस्तीमा सहज सञ्चार गर्ने बाटो नै बन्द हुन्छ कि?” अध्यक्ष बोहराले प्रश्न गर्नुभयो।
उहाँका अनुसार सामाजिक सञ्जाल आज मनोरञ्जनको माध्यम मात्र नभई जीवनयापन, व्यवसाय, शिक्षा र भावना पोख्ने प्रमुख साधन बनेको छ। “यो कदमले हामीलाई सुरक्षित बनाउँछ कि? कि हाम्रो स्वर नै बन्द गरिदिन्छ?” उहाँले जिज्ञासा व्यक्त गर्नुभयो।