बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-६ भाडसैनमा सञ्चालनको तयारीमा रहेको बाह्रदेउ क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको छ । १७ भदौ मंगलबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीको उपस्थितिमा क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको हो ।
समिक्षाबाट २ वर्ष लामो संघर्षपश्चात् सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई के कसरी सञ्चालन गर्ने, आर्थिक संकलन, तथा सञ्चालक समिति गठन लगायतका निर्णय गरेको छ ।
पूर्वतयारी कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर धामीले २०८० सालदेखि माथिल्लो क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै क्याम्पस सञ्चालनको तयारीमा जुटेको बताए । त्यस्तै यश क्षेत्रका नागरिक ,शिक्षाप्रेमी , वडाका जनप्रतिनिधि, राजनीतिज्ञ,शिक्षक लगायत गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र उपाध्यक्ष मनिषा धामीले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराए । अहिले क्याम्पस सञ्चालनका लागि सम्बन्धन मात्रै प्राप्त भएको छ, विश्व विद्यालयबाट सम्बन्धन ल्याउन बाँकी छ प्रधानाध्यापक धामीले भने, क्याम्पस सञ्चालनका लागि सम्बन्धन ल्याउन क्याम्पसको नामको खातामा ४५ लाख रुपैया हुनुपर्ने हुन्छ भने सञ्चालनका निम्ति २५ लाख रकम देखाउनुपर्छ ।
क्याम्पस सञ्चालक सहितका समिति गठन
बाह्रदेउ क्याम्पस सञ्चालक तदर्थ समिति अध्यक्ष करसिङ्गे धामीको अध्यक्षतामा बसेको पूर्व तयारी समिक्षा कार्यक्रमबाट क्याम्पस सञ्चालक समिति गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष समेत रहेकी मनिषा धामीको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको हो । समिति उपाध्यक्षमा नरे धामी गरि १५ सदस्यीय सञ्चालक समिति गठन गरिएको प्रधानाध्यापक धामीले जानकारी दिए ।
त्यस्तै अध्यक्ष धामीकै संयोजकत्वमा आर्थिक संकलन समिति र गगन गुर्धामीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
क्याम्पस सञ्चालनका लागि आर्थिक संकलन अभियान सञ्चालन गरिने
क्याम्पस सञ्चालनका लागि आर्थिक संकलन अभियान सञ्चालन गरिने भएको छ । तत्काल ठूलो संख्यामा रकम जुटाउनु पर्ने भएकाले आर्थिक संकलन अभियान सञ्चालन गरिने भएको हो । अहिले क्याम्पस सञ्चालन गर्नका लागि ७० लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ। स्थानीय जनसमुदाय ,समाजसेवी बुद्धिजीवी, शिक्षाप्रेमी जनप्रतिनिधि , राजनीतिज्ञ , पालिका मातहतका शिक्षक,कर्मचारी तथा देश विदेशमा रहेकाहरूसँग सहयोगका लागि अपिल गर्ने निर्णय गरेको छ । यस्तै क्याम्पस सञ्चालनका लागि गाउँपालिकाले २४ लाख रुपैयाँ दिनेछ ।
२ लाखभन्दा बढी आर्थिक संकलन
क्याम्पस सञ्चालनका लागि थालिएको आर्थिक संकलन अभियान अन्तर्गत केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले ५१ हजार १ सय ५१ रुपैयाँ , उपाध्यक्ष तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष मनिषा धामीले ५१ हजार १ सय ५१ रुपैयाँ, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले ५१ हजार १ सय ५१ , वडा नम्बर-६ का वडाध्यक्ष जयबहादुर धामीले ५० हजार १ सय ५१ रुपैयाँ चन्दा स्वरुप सहयोग गर्ने घोषणा गरेका छन् । यो सहयोग संगै क्याम्पस सञ्चालनका लागि पहिलो दिन नै २ लाख ३ हजार ६ सय ४ रुपैयाँ संकलन भएको छ ।
समिक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट , वडाध्यक्ष जयबहादुर धामी, पालिका सूचना अधिकारी लेखराज रावल, जनप्रतिनिधि, स्थानीय जनसमुदाय , राजनीति दलका प्रमुख प्रतिनिधि शिक्षक लगायतको उपस्थिति रहेको थियोे । यसैबीच क्याम्पस सञ्चालक समितिले क्याम्पस सञ्चालनका लागि ठूलो रकम आवश्यक परेको हुँदा सबैमा सहयोग गर्ने अनुरोध गरेको छ ।
क्याम्पस सञ्चालनमा आएपछि पालिकाको माथिल्लो भूभागका विद्यार्थीलाई घरआगनमै उच्च शिक्षा पाउनेछन् । उक्त क्षेत्रमा १२ कक्षासम्म अध्ययनका लागि विद्यालय भए पनि स्नातक तहको अध्ययन गर्नका लागि नजिकै क्याम्पसको सुविधा नहुँदा वडा नम्बर ५, ६, ७ , ८ र दुर्गाथलि गाउँपालिका-६ का विद्यार्थीलाई टाढासम्म धाउनुपर्ने बाध्यता थियो। भदौ १२ गते प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएपछि ती विद्यार्थीलाई आफ्नै क्षेत्रमा बस्दै उच्चशिक्षा अध्ययन गर्ने अवसर उपलब्ध हुने भएको हो।