देशभर बदली, कोशी–मधेस–बागमतीमा भारी वर्षाको सम्भावना
काठमाडौँ— मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहँदा देशभर पूर्ण रूपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा र तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
आज राति देशभर पूर्ण रूपमा बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागमा मध्यम वर्षा हुने र कोशी, मधेस, बागमतीको पहाडी तथा तराई भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। गण्डकीको पहाडी र तराई तथा लुम्बिनीको तराईमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
...











