काठमाडौँ —अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले ऊर्जातर्फ २ अर्ब ४५ करोड रुपैयाँ र नदी नियन्त्रण तथा सिँचाइतर्फ १ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको बताए । ‘क्षतिसम्बन्धी विवरण एवं तथ्यांक प्राप्त हुने क्रम जारी छ, पूर्ण रूपमा तथ्यांक संकलन भएपछि अद्यावधिक गर्छौं,’ उनले भने ।
बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षका कारण ११ सय मेगावाट बराबरको बिजुली उत्पादन रोकिएको समेत उनले बताए । कुल १ हजार १० मेगावाट जडित क्षमताका १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
सञ्चालनमा रहेका ६२५.९६ मेगावाटका ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । सञ्चालनमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, २२ मेगावाटको वाग्मती साना जलविद्युत् आयोजना, २२.१ मेगावाटको तल्लो हेवा खोला, १४.९ मेगावाटको हेवा खोला–ए, ८६ मेगावाटको सोलु दूधकोशी, ४ मेगावाटको माई खोला क्यास्केड, ९.६ मेगावाटको माई खोला जलविद्युत्, १ मेगावाटको फेमे खोला, ५ मेगावाटको सिउरी खोला, २ मेगावाटको खानी खोला र ४.३६ मेगावाटको टुंगुन ठोस्नेमा क्षति भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१,४० मेगावाटको सुपरन्यादी, २५ मेगावाटको इलेप खोला तातोपानी, ५ मेगावाटको हेवा खोला, १५.१ मेगावाटको सभाखोला बी, ६.३ मेगावाटको सभाखोला सी, ८६.५९ मेगावाटको लान्द्रुक मोदी, १ सय मेगावाटको सुपर त्रिशूली, २० मेगावाटको लाङटाङ खोला, १४.९ मेगावाटको माया खोला, ९९.४ मेगावाटको लाप्चे खोदा, ४० मेगावाटको भोटेकोशी १, ८२ मेगावाटको तल्लो सोलु, १४० मेगावाटको तनहुँ र १२० मेगावाटको रसुवा भोटेकोशीमा समेत क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।
सबैभन्दा बढी माथिल्लो तामाकोसीमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । हालसम्म सञ्चालित सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी तीन दिनदेखि बन्द रहेको र त्यसको क्षतिको विवरण संकलन जारी रहेको उनको भनाइ छ । तामाकोशी बाँधस्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ । पोखरीलगायत संरचनामा क्षति पुगेको छ । र ४ जना कर्मचारी बेपत्ता छन् ।
तामाकोशी नदीको कटानका कारण खिम्ती–लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको मन्त्रालयले जनाएको छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन भएर काठमाडौंका लागि बिजुली ल्याउने गरिएको छ । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर छ । चार वटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्याएको छ । यी दुई वटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ ।
५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो । विभिन्न सिँचाइ आयोजना तथा नदी नियन्त्रणमा पनि क्षति पुगेको मन्त्रालयका सिँचाइ सचिव सरिता दुवाडीले जनाइन् । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ ।

