
बझाङ – बझाङको चैनपुर बजार बन्द गरिएको छ ।
सदरमुकामको मध्य भागमा आगलागी भएको घटनामा नगरपालिकाले लापरबाही गरेको भन्दै चैनपुरका व्यापारीले बजार बन्द गरेका छन् ।
जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड बढीको क्षति भएको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएका हुन् ।
आइतबार दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ३२ वर्ष पुरानो एउटा कपडा पसलमा आगो लाग्दा एक करोड बढीको धनमाल जलेर नष्ट भएको थियो । आगलागी भएको करिब आधा घण्टापछि मात्रै आधा ट्यांकी पानी भरिएको जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो ।
यस्तो घटनाबाट पाठ सिक्दै आगामी दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले बताए । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद् सम्बन्धी चुस्त तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएको बताए ।

