बझाङ- जिल्लाकाे थलारा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको पोषणसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्न दुईदिने पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालिम शुक्रबारदेखि सुरु भएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित तालिममा पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।
तालिममा गर्भवती तथा सुत्केरी महिलाको पोषण, शिशु तथा बाल पोषण, किशोर–किशोरीको पोषण, कुपोषणको पहिचान तथा व्यवस्थापन, पोषण परामर्श, सन्तुलित आहार र समुदायमा पोषण प्रवर्द्धनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइनेछ।
गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बझाङका वरिष्ठ अधिकृत लालबहादुर धामी र थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद जोशी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका छन्।
तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई स्वास्थ्य संस्थामार्फत समुदायमा प्रभावकारी रूपमा कार्यान्वयन गरी पोषणसम्बन्धी सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।
थलारा गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर ओलीका अनुसार तालिमले स्थानीय तहमा पोषणसम्बन्धी सेवाको प्रभावकारिता बढाउनुका साथै कुपोषण न्यूनीकरण र स्वस्थ समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

