भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गएको आइतबारयता बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको हो।
अत्यधिक मनसुनी वर्षाका कारण ब्रह्मपुत्र नदीमा आएको बाढीले असामका सात जिल्ला प्रभावित भएका छन्। बाढीबाट झण्डै ३ लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ।
चराइदेव जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १ लाख ३७ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। यस्तै, शिवसागरमा ८४ हजार र जोर्हाटमा ४९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
यसैबीच, भारतको मौसम विज्ञान विभागले आज पनि असामसहित छिमेकी राज्य अरुणाचल प्रदेश र नागाल्यान्डका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।

